

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय प्लाइउड निर्यात पनि भन्सार नाकाबाट हुँदै आएकोमा विराटनगरको रानी भन्सारपारिको जोगवनी र झापाको काँकडभिट्टा पारि पानीटंकीस्थित भारतीय भन्सारले नेपाली प्लाइउड बोकेका ट्रक रोकिदिन थालेको छ ।गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने निकाय ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस)बाट जारी गर्ने आईएसआई सर्टिफिकेटको अवधि सकिएको भन्दै भारतले नेपाली प्लाईउडको निर्यात नै रोकेको हो । आईएसआईको कारण देखाउँदै भारतीय भन्सार पक्षले नेपालबाट निकासी भएको प्लाइउड बोकेका ट्रक दुई हप्तादेखि सीमामा रोकिदिएको प्लाई उद्योगीले बताएका छन् । यस्तो अवरोधले नेपालको निर्यात वस्तु प्लाइउड उद्योगहरू मर्कामा परेको गुनासो उद्योगीले गरेका छन् । नेपालमा ९० वटा प्लाइउड उद्योगमध्ये आईएसआई प्रमाणपत्र पाएका जम्मा नौ वटा उद्योग मात्रै रहेका छन् । ती उद्योगले आगामी एक वर्षको अवधिका लागि मात्रै भारतमा प्लाइउड निर्यात गर्न सक्ने जानकारी प्लाई उद्योगीले दिएका छन् ।
अहिले बीआईएसबाट प्रमाणपत्रको अवधि समाप्त भएको भन्दै भारतीय भन्सारले नेपालबाट निर्यात भएको प्लाइउड रोकेको हो । बीआईएसको आईएसआई प्रमाणपत्र लिनका लागि भारत सरकारलाई नेपाली प्लाइउड उद्योगहरूले आवश्यक दस्तुर तिरिसकेको भए पनि अहिलेसम्म प्रमाणपत्र भारतले पठाएको छैन । सोही कारण हाल नेपाली प्लाई उद्योगीले निकासीमा समस्या व्यहोर्नुपरेको छ । देशभरमा ९० वटा जति प्लाइउड उद्योग भएका र नौवटाले मात्रै बीआईएसबाट अनुमति पाएर पनि एक वर्षका लागि मात्रै भएको हुँदा अहिलेसम्म ती प्लाई उद्योगको नवीकरण समेत भारत सरकारले नगरेको उद्योगीले जानकारी दिएका छन् ।
विराटनगरको रानी भन्सारपारि भारतको जोगवनी र झापाको काँकडभिट्टापारि पानीटंकीस्थित भारतीय भन्सारले नेपाली प्लाइउड बोकेका ठूलो संख्याका मालवाहक ट्रक रोकिदिएको छ । यसरी समस्या देखिएपछि प्लाई उद्योगीले प्रधानमन्त्रीलाई एक महिनाअघि नै ध्यानाकर्षण गराएका थिए । आसन्न भारत भ्रमणमा पनि यो कुरालाई जोडदार उठाइदिन आग्रह गरेको प्लाई उद्योगीले जानकारी दिएका छन् । पछिल्लो समय नेपालबाट भारतको बीआईएसमा नियमपूर्वक दिनुपर्ने आवेदन दिएर आवेदन स्वीकृति भइसकेको अवस्थामा बीआईएसमा जम्मा गर्नुपर्ने सम्पूर्ण रकम समेत जम्मा भइसक्दा पनि भारतीय पक्षबाट आईएसआई प्रमाणपत्र दिन ढिलासुस्ती गरेको उद्योगी बताउँछन् ।
उद्योगीको समस्या समाधान गर्न आग्रह गर्दै प्लाइउड संघका कोशी प्रदेश अध्यक्ष सीताराम अग्रवालले नेपाली प्लाइउड उद्योग केही वर्षयता उत्पादनमा आत्मनिर्भर भएको छ । हाल भारतबाट प्लाइउड आयात गर्नुपरेको छैन । निर्यातका लागि भारत सरकारले आईएसआई प्रमाणपत्र प्राप्त नभएको भन्दै अवरोध खडा गरेसँगै आईएसआई प्रमाणपत्रविनाका उद्योगको प्लाइउड आयात नगर्न भारत सरकारले १५ मार्च २०२४ मै राजपत्रमा सूचना प्रकाशन गरेर यो अवस्था सिर्जना भएको उनले जानकारी दिए । अग्रवालले यो व्यवस्था १६ फागुन २०८१ (२८ फेब्रुअरी २०२५)देखि अनिवार्यरूपमा लागू हुने भन्दै भारतीय भन्सारले नेपालबाट प्लाइउड बोकेर गएका ट्रक रोकेको स्मरण पनि गराएका छन् ।
नेपालबाट भारत निकासी हुने वस्तुहरूमध्ये प्लाइउड दशौँ स्थानभित्र पर्दै आएको छ । सरकारले निकासीमा सहजीकरण गरिदिए पाचौँ स्थानमा पर्न सक्ने प्लाइउड एसोसिएसनका अध्यक्ष अग्रवाल बताउँछन् । उनले भारतले दुई वर्षअघि पनि नेपाली प्लाइउड उद्योगको निर्यातमा अवरोध गरेको भन्दै त्यसबेला सरकारकै कूटनीतिक लविङले गर्दा निर्यात अवरोध हटेको स्मरण गरे । उनले सरकारले नेपाली प्लाई भारत निकासीमा गम्भीर भएर खुलाउन पहल गर्नुपर्नेमा जोड दिए ।