

विराटनगर । संघीय सरकारमा हुँदै आएको दलीय सत्ता राजनीतिको शृङ्खलाले यसपटक आन्तरिक राजस्व कार्यालय विराटनगरमा पनि ठुलै प्रभाव परेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारी अर्थ मन्त्रालयले केशव उप्रेतीलाई दिएको छ ।
नयाँ जिम्मेवारीका साथ विराटनगर सरुवा भएर आउने तयारीमा रहेका उप्रेती यसभन्दा अगाडि आन्तरिक राजस्व कार्यालय कास्की र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरमा कार्यरत थिए । दुवै कार्यालयमा काम गरेर हाल अर्थ मन्त्रालयमा रहेका उप्रेतीलाई अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक राजस्व कार्यालय विराटनगरमा नयाँ जिम्मेवारी दिएर पठाएको हो । उप्रेती प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका स्थायी बासिन्दा समेत हुन् । कर्मचारीको सरुवा सामान्य भए पनि यसपटक अर्थ मन्त्रालयले कर्मचारी सरुवाको विषयलाई ठूलै उपलब्धि प्राप्तिको विषय बनाएको छ ।
संघीय सरकारमा भएको गठबन्धन सरकारले कर्मचारी सरुवामा पनि दलीय भावनाका आधारमा सरुवा गरेको आरोप कर्मचारी संगठनको छ । अर्थ मन्त्रालयले पनि दलीय भागबण्डाअनुसार नै आन्तरिक राजस्व कार्यालय विराटनगरको प्रमुखमा उपसचिव उप्रेतीलाई पठाएको जनाइएको छ । कर्मचारी वृत्तमा दलीय भागबण्डामा आउनेबाट आशातीत काम हुने वातावरण नबन्ने हो कि भन्ने त्रास रहेको चर्चा पनि चलेको छ । कोशी प्रदेशमा रहेको संघीय सरकार मातहतका कार्यालयहरुमध्ये सरकारी राजस्व उठाउने मुख्य मेरुदण्डका रुपमा रहेको विराटनगरको आन्तरिक राजस्व कार्यालयमा पछिल्लो समय नक्कली भ्याटबिल प्रकरणले पूरै बजारलाई प्रभावित बनाएको छ ।
एक व्यापारी भर्खर मात्रै भ्याट छलीको अभियोगमा विराटनगर कारागारमा छन् । यस्तो विषम परिस्थितिमा पार्टी भागबण्डामा कार्यालय प्रमुखको रुपमा पदस्थापन भएका उपसचिव उप्रेतीले अब कुनरुपमा आफ्नो कार्यसम्पादन गर्ने हुन् भन्ने विषय गम्भीर बनेको छ ।