

विराटनगर, उद्योग संगठन मोरङको महिला उद्यम समितिले ‘उद्यम यात्रा, अनुभव र उत्प्रेरणा’ विषयक युवा उद्यम सम्वाद कार्यक्रमको आयोजना गरेको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई उद्यमशीलतासम्बन्धी ज्ञान, अनुभव र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । कार्यक्रममा स्र्टाटअप व्यवसायीले आफ्नो उद्यम यात्रा तथा अनुभवहरू सुुनाएका थिए । यो कार्यक्रमले सहभागिहरुलाई व्यावसायिक विकासको व्यावहारिक ज्ञान र प्रेरणा प्रदान हुुने आयोजकको विश्वास छ । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो समय विश्व बजारमा उद्यमशीलताको विकासमा युवाहरूको वर्चश्व बढ्दै गएको बताए । उनले युवाहरूको सिर्जनात्मक सोच, प्रविधिमैत्री दृष्टिकोणले मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने बताए ।
त्यस्तै, यस प्रकारको कार्यक्रमले युवा उद्यमशीलता विकासका लागि उत्प्रेरणा दिने अध्यक्ष राठीको विश्वास छ । उद्योग संगठनको महिला उद्यम समितिकी किरण ब्यासले युवा र महिलाहरूलाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले महिला उद्यम समिति सधैं महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहने स्पष्ट पार्दै युवा उद्यम संवादले युवा पुस्तालाई व्यावसायिक यात्रा सुरु गर्न हौसला प्रदान गर्ने उल्लेख गरिन् । कार्यक्रम संयोजक जयन्ती आचार्यले युवाहरु आर्थिक विकासको संवाहक भएको भन्दै स्वदेशमै उद्यमशीलता विकासमा अभिप्रेरित गर्न र युवाहरूलाई आगामी दिनमा स्पष्ट मार्गचित्र प्रदान गर्न कार्यक्रमले सहयोग पु¥याउने आशा व्यक्त गरिन् ।
कार्यक्रममा स्टार्टअप व्यवसायी रवि गुप्ताले आफ्नो उद्यम यात्राको व्यवसाय सुरु गर्दा समस्या र अनेकौँ चुनौतीहरू आए पनि निरन्तर प्रयास र सही निर्णयले सफलता प्राप्त गर्न सम्भव भएको बताए । अर्की उद्यमी तारादेवी अधिकारीले सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको सही प्रयोगले व्यवसायलाई छोटो समयमा व्यापक बनाउने अवसर प्रदान गर्ने भन्दै युवाले प्रविधिको सदुपयोग गर्नुपर्ने धारणा राखिन् । महिला उद्यमी लक्ष्मी घिमिरेले स्विजरल्यान्डमा महिला उद्यमीहरुले कसरी व्यवस्थितरूपमा व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले गहिरो प्रभाव पारेको भन्दै अनुशासन, पद्धति र गुणस्तरप्रतिको प्रतिबद्धताले व्यवसाय विकासमा थप टेवा पुग्ने स्पष्ट पारेकी थिइन् । कार्यक्रममा महिला उद्यमीहरु, विभिन्न क्याम्पसका विधार्थीहरु, उद्यशीलतामा अभिरुची भएका युवाहरू र स्टार्टअप उद्यमीहरुको उत्साहजनक सहभागिता देखिएको थियो ।