

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले यहाँका ५० भन्दा बढी व्यावसायिक फर्ममाथि अनुसन्धान थालेको छ । गत असारमा आफ्नै कार्यालयमा दर्ता गरी कारोबार गर्दै आएको व्यावसायिक फर्ममा तीन आर्थिक वर्षअघिदेखिका नक्कलीे बिलविजकमार्फत एक अर्ब ३१ करोड मूल्य अभिवृद्धि कर छली गरेको फेला पारेपछि कार्यालयले अनुसन्धान सुरु गरेको हो । राजस्व अनुसन्धान विभागले पछिल्लो समय आक्रामकरूपमा नक्कली बिलविजकबाट हुने गरेको कारोबारको अनुसन्धान थालेको हो ।
विराटनगर–७ का सौरभकुमार वियानीले नक्कली बिलविजक प्रयोग गरी भ्याट छली गरेको रकम बराबरको नगद तथा जेथा जमानी बुझाउन नसकेपछि मोरङ कारागार पठाएको कार्यालयले फेरि अन्य केही नक्कली बिलविजक प्रयोग गरी कारोबार गरेको आशंकामा व्यावसायिक फर्ममाथि फेरि अनुसन्धान सुरु गरेको छ । गत असार ३० गते कार्यालयले दर्ता भई कारोबार गर्दै आएका १० वटा फर्मका नाममा सार्वजानिक सूचना जारी गरी सात दिनभित्र आर्थिक वर्ष २०७९/८० देखि २०८१ चैत्र मसान्तसम्मको व्यावसायिक कारोबारको प्रमाणसहित उपस्थिति हुन निर्देशन दिएको थियो । तर करिब दुई हप्ता बित्दा पनि ती फर्मका सञ्चालक कोही पनि आन्तरिक राजस्व कार्यालयमा उपस्थित भएका छैनन् । उनीहरु कार्यालयमा उपस्थित नभएपछि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयले सात दिनको भ्याद दिएर उपस्थित हुन निर्देशन दिएका फर्महरुमा विराटनगर ४ का हेमन्त कुमार राईको जय श्री ट्रेडर्स एन्ड सप्लायर्स प्रालि, विराटनगर ५ का पुनित कुमार यादवको भगवती हार्डवेयर एन्ड ट्रेडिङ, विराटनगर ३ का निर्जला खड्काको अमाइराज इन्टरनेसनल ट्रेडिङ, विराटनगर ७ का जस्वन्त कुमार सिंहको हरेराम निर्माण सप्लायर्स र पिल्लर्स ट्रेडर्स एन्ड बिल्डर्स प्रालि, विराटनगर ८ का बाल कुमार राईको सुस्तरी इन्टरप्राइजेज एन्ड बिल्डर्स प्रालि रहेका छन् ।
विराटनगर ३ का विपुल राईको ओम लक्ष्मीपार्वती हार्डवेयर एन्ड प्रालि, विराटनगर ७ का सञ्जय कुमार मण्डलको सरस्वतीमाता हार्डवेयर एन्ड सप्लायर्स, विराटनगर ५ का राज कुमार मण्डलको भगवती हार्डवेयर एन्ड सप्लायर्स र विराटनगरका चन्दन कुमार साहको बिएन हार्डवेयर एन्ड सप्लायर्सलाई आराकाले सार्वजनिक सूचना जारी गरी आफ्ना प्रमाणित कागजातसहित आराकामा सम्पर्क राख्न निर्देशन दिएको थियो । उनीहरु सम्पर्कमा नआएपछि १० वटै फर्म र सञ्चालकमाथि नै कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया सुरु गरेको आराका स्रोतले बताएको हो ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले १० वटा फर्मले गरेको व्यावसायिक कारोबारको अनुसन्धानका क्रममा सञ्चालकहरुले नक्कली कारोबार गरेको दाबी स्रोतले गरेको छ । उक्त फर्महरुबाट ठूलैरूपमा मिलेमतो गरेर कारोबार गर्ने र बिलविजक तयार पार्नेजस्ता काम देखिएपछि ती १० वटा फर्ममाथि करिब दुई महिना अगाडिदेखि नै आराकाले अनुसन्धान गर्दै आएको पनि जनाइएको छ । अब ती १० वटा व्यावसायिक फर्म र त्यसका सञ्चालकलाई आयकर ऐन २०५८ को दफा ८३ (१) एवं मुअकर ऐन २०५२ को दफा २३ (२) बमोजिम अनुरोध गरिएको र सम्पर्कमा नआएपछि उपलब्ध तथ्याङ्क र प्रमाणका आधारमा आवश्यक कारबाही गरिने भएको छ । यस्तै, ती १० सँगै थप तीन दर्जन व्यावसायिक फर्म र त्यसका सञ्चालकलाई पनि आन्तरिक राजस्व विभागको निर्देशनअनुसार आन्तरिक राजस्व कार्यालयबाट निगरानीका साथ उनीहरुको कारोबारमाथि अनुसन्धान भइरहेको स्रोतले दाबी गरेको छ । अबको केही दिनभित्रै त्यस्ता कारोबारीहरुलाई पनि कानुनी दायरामा ल्याउने गरी आन्तरिक राजस्व कार्यालय विराटनगरले आफ्नो अनुसन्धानलाई तीव्रता दिइरहेको जनाइएको छ ।