

विराटनगर ,राधाकृष्ण मन्दिर, शिवालय र विराटनगरको ऐतिहासिक रथयात्राका मूल संस्थापक समाजसेवी स्व. इन्द्रलाल भट्ट भगवानका अनन्य भक्त हुनुहुन्थ्यो। वि.सं. १९८७ मा उहाँले विराटनगर (हालको पानीटंकी पोखरिया, वार्ड नं. १) मा केही जग्गा खरिद गर्नुभयो। त्यसमध्ये बाटोपूर्वको दुई कठ्ठा जमिनमा उहाँले राधाकृष्णको मन्दिर स्थापना गर्नुभयो। मन्दिर छेउमै आफ्नै सानो घर बनाएर, वि.सं. १९८८ देखि सेवा–अर्चनामा समर्पित जीवन प्रारम्भ गर्नुभयो।
उहाँले छोरालाई बनारस पढ्न पठाएर स्वयंलाई जप, ध्यान र पूजापाठमा समर्पित गर्नुभयो। भगवान श्रीकृष्णप्रति विशेष श्रद्धा राख्ने इन्द्रलाल भट्टले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको विग्रह खटमा राखी विराटनगर परिक्रमा गराउने परम्परा सुरु गर्नुभयो, जसले आजको भव्य रथयात्राको रूप लिएको छ।
वृन्दावनसम्मको यात्रा र त्यहाँको सेवा
कृष्णभक्त भएका कारण उहाँ वृन्दावन नियमित आउजाउ गर्न हुन्थ्यो। पछि श्रीमतीसहित वृन्दावनमै रमाउन थाल्नुभयो र त्यहाँ बिहारीजी मन्दिर नजिकै शिशमहलमा आफ्नै खर्चमा एउटा कोठा बनाउनु भयो। मन्दिरको सेवा प्रभावित नहोस् भनेर उहाँले नाति पर्ने पुण्यप्रसाद पौडेललाई आसामबाट बोलाई मन्दिरको सम्पूर्ण पूजाआजा जिम्मा लगाउनुभयो।
यही बीचमा उहाँको जवान छोराको असामयिक निधन भयो। यो पीडाले पिडित बनेका इन्द्रलाल र उहाँकी धर्मपत्नी पवित्रा दासीले छोराको सम्झनामा राधाकृष्ण मन्दिर छेउमै समाधि स्थापना गर्नुभयो र त्यसमाथि शिवालय निर्माण गराउनुभयो। त्यसपछिका वर्षहरूमा मन्दिर नजिकको केही जग्गा पुण्यप्रसाद पौडेललाई दिई बाँकी जग्गा छोरीलाई व्यवस्थापन गरिदिएर, विराटनगर त्यागी स्थायी रूपमा वृन्दावन बसाइँ सर्नुभयो।
इन्द्रलाल भट्टको योगदानमाथि प्रश्नचिन्ह?
आज मन्दिरको लोकप्रियता र रथयात्राको भव्यतासँगै यसको इतिहास खोजिने क्रम बढेको छ, जुन सकारात्मक विषय हो। तर दुर्भाग्यवश, इन्द्रलाल भट्टको ऐतिहासिक योगदानबारे कुनै प्रमाण नपाएपछि उहाँको चरित्रबारे अनेक अप्रमाणित र अपमानजनक व्याख्याहरू सार्वजनिक भइरहेका छन्।
कतिपयले उहाँलाई “बाटोको छेउमा झुपडीमा विग्रह राखेर मागेर गुजारा चलाउने गरीब ब्राह्मण”का रूपमा चित्रण गरे भने, कसैले “टिनको छाप्रोमा पूजा गर्ने” भनाइ फैलाए। अझ कतिपयले उहाँलाई वर्मा वा अरू कुनै ठाउँबाट आएका फिरन्ते ब्राह्मणसमेत भन्न भ्याए।
यी सबै व्याख्याहरू गलत, भ्रामक र इतिहासको अपमान हुन्। म, स्व. इन्द्रलाल भट्टकी पनातिनीका रूपमा, आफ्नी हजुरआमा स्व. भागिरथा पोखरेल र आमाबाट सुनेका यथार्थ घटनाहरू समाजसमक्ष राख्दैछु।
ऐतिहासिक तथ्यहरू र योगदान
हजुरआमाका अनुसार, जग्गा सामान्य कागजी प्रक्रिया अनुसार खरिद गरिएको थियो। पछि सोमराज मुखिया (पौडेल) र उनका भाइ कृष्णप्रसाद पौडेलले मन्दिरलाई करिब १६ कठ्ठा जग्गा दान गरेपछि सम्पूर्ण जग्गा मन्दिरको नाममा नामसारी गरिएको हो। इन्द्रलाल भट्टले कहिल्यै जग्गा कसको नाममा छ भनेर चिन्ता गरेनन्। उनको उद्देश्य निष्कलंक भक्ति र सेवा थियो।
मन्दिर सुरुमा टिनको छानो र इँटाको गारोले बनेको थियो, जुन समयअनुसार विराटनगरकै एक भव्य मन्दिरका रूपमा चिनिन्थ्यो। रथयात्रा खटमा बोकेर नगर परिक्रमा गराइन्थ्यो, जुन उल्लासमय हुन्थ्यो भन्ने कुरा अग्रजहरूले नै सुनाउँदै आएका हुन्।
सबैको योगदानको सम्मान आवश्यक
कुनै पनि सामाजिक कार्यको स्थापना, विकास र सफलता सँग संस्थापकदेखि साना योगदानकर्तासम्म सबैको महत्त्वपूर्ण भूमिका हुन्छ। इन्द्रलाल भट्टपछि मन्दिरको पूजाआजा, संरक्षण र सेवा गर्ने पुण्यप्रसाद पौडेल, शिवालयको जिर्णोद्धार गर्ने स्व. वेगनलाल साह तेली, राधाकृष्ण मन्दिरको पुनःनिर्माणमा सहयोग गर्ने भूपालमान सिंह कार्की, सत्यनारायण धनावत र पुषराज तापडिया—सबैको योगदान उल्लेखनीय छ।
निष्कर्ष
स्व. इन्द्रलाल भट्टका सन्तानको नाताले, मैले वहाँको योगदानबारे सुनेका र अनुभूत गरेका यथार्थहरू प्रस्तुत गर्नु आफ्नो कर्तव्य ठानेकी छु। आशा छ, यसले उहाँप्रति बनेका शंकाहरूलाई केही हदसम्म स्पष्ट पार्नेछ।
भगवान श्रीराधाकृष्णको कृपा सधैं समाजमा वर्सिरहोस्।
जय जय श्री राधे।