

विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्षको प्रचारप्रसारका नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । कोशी प्रदेश सरकारले पर्यटन प्रबर्द्धनका लागि प्रचारप्रसारका नाममा छुट्याएका बजेटलाई मुख्यमन्त्री कार्कीले कार्यकर्तामा वितरण गरेर ब्रह्मलुट नै मच्चाएको आरोप लागेको छ । प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन समेत गरी पछिल्लो समय धमाधाम विभिन्न कार्यक्रहरू भइरहेका छन् । अहिले समूह बनाएरै विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रमका नाममा बजेट खर्च गर्ने होडबाजी चलेको छ ।
परिचयात्मक भ्रमण र ‘रोड सो’ को नामबाट कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि प्रचारप्रसार भन्दै पर्यटन वर्षको नामबाट झोले कार्यकर्तामार्फत ठूलो रकम नै खर्च भइसकेको समाचार स्रोतले बताएको छ । मन्त्रालय र सचिवले पर्यटन निर्देशन समितिका नाममा नाम मात्रैको सदस्य नियुक्ति गरी बजेट खर्च गरिएको छ । करिब १५ दिन अगाडि मात्रै पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ जनालाई पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दंगालको नेतृत्वमा रोड सो भनी विभिन्न स्थानमा परिचयात्मक तथा प्रबर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
यसरी भ्रमण कार्यक्रमका नाममा नेपालसहित भारतको सिक्किमका, विहार, पश्चिम बंगालको समेत सहभागितामा भन्दै गरिएको खर्च कहालीलाग्दो अवस्थामा रहेको छ । पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भन्दै सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमणका नाममा कति खर्च गरियो भन्ने गोप्य लिस्ट मन्त्रालयका सचिव एक्लैले बनाएको दाबी पनि स्रोतले गरेको छ । यसरी पर्यटन वर्षको नाममा बदनाम भएको मुख्यमन्त्री हिकमत बहादुुर कार्की नेतृत्वको कोशी प्रदेश सरकार पछिल्लो समय व्यापक विवादमा आउन थालेको छ ।
पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने भन्दै चालू आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत १० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो भने आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोतका अनुुसार त्यसमध्ये चार करोड ४७ लाख रुपैयाँ मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्ने र बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने गरी बजेट विनीयोजन भएको थियो ।