

विराटनगर । नक्कली बिलको प्रयोग गरी यहाँको एक हार्डवयर व्यवसायीले एक अर्ब ३१ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको पाइएको छ ।विराटनगर–७ का सौरभकुमार बियानीले लगातार तीन आर्थिक वर्षदेखि नक्कलीे बिलविजकमार्फत् सो रकम भ्याट छली गरेको पाइएको हो । भ्याट छली गरेका बियानी हाल थुनामा पुगेका छन् । आन्तरिक राजस्व विभागको आदेशमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बियानीलाई मोरङ कारागार हाटखोला पठाएको छ । व्यवसायी बियानीले छली गरेको रकम बराबरको नगद तथा जेथा जमानी बुझाउन नसकेपछि उनलाई मोरङ कारागार थुनामा पठाएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ । बियानीले आर्थिक वर्ष २०७९–८०, ०८०–८१ र २०८१–८२ मा नक्कली कर विजक जारी गरेको भन्दै आन्तरिक राजस्व विभागमा उजुरी परेको थियो । उजुरीपश्चात् विभागका महानिर्देशक मदन दाहालको निर्देशनमा आन्तरिक राजस्व कार्यालय विराटनगरले करिब एक महिना बियानीको फर्मको अनुसन्धान गरेको हो ।
अनुसन्धानको क्रममा बियानीले विराटनगर–३ स्थित भट्टाचोकमा ‘न्यू सौरभ ट्रेडिङ, बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’को नामबाट चारवटा सटरमा हार्डवेयर सञ्चालन गर्दै आएको पाइएको थियो । उक्त फर्म स्थापनाको वर्ष बियानीले शून्य रकम कारोबार गरेर त्यसपछि २८ करोड र ७६ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीमाथि भ्याट छलेको कसुरमा आन्तरिक राजस्व विभागबाट महानिर्देशक दाहालले लामो अनुसन्धान गरेपछि मात्रै आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । आराका विराटनगरले पनि आफ्नो लामो अनुसन्धानपछि बियानीलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार कारबाही अघि बढाएको छ ।
बियानीले उक्त फर्मको नामबाट कारोबार गर्ने क्रममा कुल एक अर्ब ३१ करोड ६४ लाख १८ हजार पाँच सय ६४ रुपैयाँ भ्याट छलेको भन्दै सोही रकम बराबरको हुन आउने रकम धरौटी बुझाउन आन्तरिक राजस्व कार्यालय विराटनगरले आदेश दिएको थियो । कारोबारी बिहानीले उक्त धरौटी बुझाउन नसकेपछि उनलाई थुनुवा पूर्जी दिएर मोरङ कारागारमा थुनामा राख्न पठाइएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जानकारी दिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले पनि आन्तरिक राजस्व विभागसँगको समन्वयमा स्वीकृति लिएर मात्रै कारोबारी बियानीलाई थुनामा पठाएको जनाएको छ । आराकाले पनि उनलाई थुनामा पठाउन दिइएको आदेशमा धरौटीबापत नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागारलाई पत्राचार गरेको सार्वजनिक भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गरेको अनुसन्धानका क्रममा हार्डवेयर सञ्चालक बियानीले वस्तुबिक्री नै नगरी नक्कली कारोबार गरेको दाबी समाचार स्रोतले गरेको छ । बियानीले घर भाडामा लिएर हार्डवेयर सञ्चालन गर्दै आएका थिए । उनले उक्त फर्मबाट ठूलो मात्राका मिलेमतो गरेर कारोबार गर्ने र बिलविजक तयार पार्ने अन्य व्यक्ति र फर्महरूमाथि समेत अब अनुसन्धान सुरु हुन जरुरी भएको कुरा बताउन थालिएको छ । बियानीले गरेको नक्कली कारोबारको फेहरिस्त सुनसरीमा सञ्चालन भइरहेको एउटा उद्योगबाट भएको भुक्तानी विवरणबाट खुलेको हो । अब उक्त उद्योगदेखि बियानीसँग आर्थिक कारोबारमा जोडिएका करिब एक दर्जन व्यावसायिक फर्म र त्यसका सञ्चालकलाई आन्तरिक राजस्व विभागको निर्देशनमा आन्तरिक राजस्व कार्यालयबाट निगरानीका साथ उनीहरूको कारोबारमाथि नै अनुसन्धान भइरहेको जनाइएको छ । केही दिनभित्रै बियानीसँग जोडिएका एक दर्जन कारोबारीहरूलाई पनि कानुनी दायरामा ल्याउने गरी आन्तरिक राजस्व कार्यालय विराटनगरले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको आराका उच्च स्रोतले जानकारी दिएको छ ।