

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी मोतीलाल दुगडले बिक्री गरेको निर्माणाधीन सेन्चुरियन भवन भाटभटेनीको नाममा पास गर्न नसकेको पाइएको छ । ऋणमाथि ऋण थपिँदै गएर आर्थिक अवस्था कमजोर भए पनि उद्योगी दुगडले एक अर्ब ५५ करोडमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुुरुङलाई सेन्चुरियन भवन बिक्री गरेका थिए । तर भवन बिक्री गरेको उक्त पैसाबाट प्राइम बैंक र ग्लोबल आइएमई बैंकको ऋण नै तिर्न नपुग्ने अवस्था आएपछि उद्योगी दुगड तनावमा रहेका छन् । स्रोतका अनुसार प्राइम र ग्लोबल आइएई बैंकले निर्माणाधीन सेन्चुरियन भवन र जग्गा कम्पनी रजिस्ट्रारको कार्यालयमा रोक्का गरेको छ । दुवै बैंकले ऋण चुक्ता नगरेसम्म भवन र जग्गा फुकुवा नगर्ने भएपछि दुगडले मीनबहादुर गुरुङलाई बेचेको सो भवन भाटभटेनीका नाममा पास गर्नलाई समस्या भएको स्रोतको दाबी छ । भवन र जमिन भाटभटेनीको नाममा मालपोतबाट पास हुन बाँकी नै रहेको छ ।
स्रोतका अनुसार ग्लोबल बैंकबाहेक नै प्राइम बैंकमा मात्र दुगडको नाममा रहेको सेन्चुरियन समूहको दुई अर्ब रुपैयाँभन्दा बढी नै ऋण छ । त्यसबाहेक अन्य बैंक तथा वित्तीय संस्था र व्यक्तिको समेत गर्दा उद्योगी दुगडको विराटनगरमा पाँच अर्ब रुपैयाँको हाराहारी ऋण रहेको छ । विराटनगरमा मोतिलाल दुगडले दुगड स्पाइस एन्ड फुड प्रोडक्ट, सेन्चुरी मसला, ह्यारिसन सेन्चुरियन होटल सञ्चालन गरिरहेका छन् । त्यसबाहेक पनि अन्य तीनवटा उद्योग उनकै नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम रहेका छन् । ती उद्योगको पनि बक्यौता नबुझाएका कारण आराकाले पत्रिकामा उद्योगी दुगडको नाममा सूचना प्रकाशित गरी बक्यौता बुझाउन ताकेता गरेको थियो ।
यस्तै, उनको दुगड स्पाइसेसको रेटिङ नवीकरण समेत भएको छैन । पाँच करोडभन्दा बढी ऋण लिने कम्पनीको अनिवार्यरूपमा रेटिङ गराउनुपर्ने कानुनी व्यवस्था छ । तर उद्योगी दुगडले सो उद्योगको नाममा एक अर्बको हाराहारीमा ऋण लिए पनि दुगड स्पाइसेसको रेटिङ नवीकरण गराएका छैनन् । यसले गर्दा उक्त कम्पनीमा लगानी गरेका बैंकहरूको ऋण जोखिममा परेको हो कि भन्ने प्रश्न उब्जिएको छ । स्रोतका अनुसार केयर रेटिङ नेपालले दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्ससँग २०२४ को जुलाई १५ मा नै इमेल र पत्रमार्फत बारम्बार आग्रह गर्दा पनि कम्पनीले सूचना उपलब्ध नदिएको हुँदा समस्या भएको हो । केयर नेपालले उद्योगी दुगडको उक्त दुगड स्पाइसेसलाई असहयोग गर्नेको सूचीमा राखेपछि दुगड समस्यामा पर्न पुगेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार उद्योगी दुगड शक्ति प्रदर्शनमा लाग्दा व्यापार व्यवसाय नै कमजोर बनाए भने विराटनगरमा प्रभावमा पारेर बैंकबाट र व्यक्तिबाट अत्याधिक ऋण लिए र अहिले त्यही ऋणको गलपासोमा परेका छन् ।