०७ आषाढ २०८२, शनिबार

उद्योगी दुगड गम्भीर आर्थिक संकटमा

Logo
news बिहिबार, जेठ ०९, २०८२

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा कुनै समय सफल मानिएका उद्योगी एवं व्यवसायी मोतिलाल दुगड पछिल्लो समय चरम आर्थिक संकटमा फसेका छन् ।

हाल एकातिर उद्योगी दुगड बैंकको ऋण तिर्न नसकेर धमाधम अचल सम्पत्ति बिक्री वितरण गर्न थालेका छन् भने अर्कातिर विराटनगर बजारबाट आफ्ना साथीभाइदेखि इष्टमित्रहरूसँग लिएको ऋण तिर्न भनेर आफैँले काटेका विभिन्न बैँकको करोडौँका चेक बाउन्स भएको घटनाहरू सार्वजनिक हुन थालेका छन् । कुनै बेला शक्तिशाली सरकारको राज्यमन्त्री समेत भइसकेका र अर्बौँको व्यापार गर्ने दुगड अहिले आर्थिक मामिलामा अत्यन्तै कमजोर भएका कारण चेक बाउन्सको मुद्दामा जुनसुकै बेला कारबाहीमा पर्ने अवस्था रहेको कोरिडोरका उद्योगीहरूले बताउन थालेका छन् ।

व्यक्तिगत ऋणकै कारण उद्योगी दुगडले गत महिनामा मात्रै आफ्नो नाममा रहेको होटल सेन्चुरियन तथा महल निर्माणकै क्रममा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई एक अर्ब ५५ करोडमा बिक्री गरेका थिए । स्रोतका अनुुसार उद्योगी दुुगडले ऋण तिर्न नसकेपछि बैंकले धितो रोक्का गरेको छ । यस्तै, विराटनगर बजारमा विभिन्न व्यक्तिलाई दुगडले काटेका चेक सबै नै बाउन्स भएको स्रोतले दाबी गरेको छ । मिनबहादुर गुरुङलाई बिक्री गरेको होटेलमा समेत दुगडले करिडोरका केही उद्योगीहरूलाई पार्टनर बनाउनेभन्दै पाँचदेखि छ करोड रुपैयाँसम्म ऋण लिएर अहिलेसम्म पनि तिरेका छैनन् । दुगडले उक्त होटल मीनबहादुरलाई बिक्री गरेसँगै उनले काटेका चेकहरू धमाधम बाउन्समा पर्न थालेको घटना बाहिरिएको छ ।

त्यतिमात्रै होइन डेडिकेटेड र ट्रङ्कलाइन विवादमा समेत उद्योगी दुगडले प्रधानमन्त्री ओलीलाई मिलाउँछु भन्दै केही स्थानीय उद्योगीदेखि व्यवसायीबाट पैसा उठाएको आरोप पनि पछिल्लो समय लाग्न थालेको छ । यता व्यवसायीहरूकै पैसा लिएकाले चेक बाउन्स हुँदा पनि दुगडले अहिलेसम्म पनि आफू तिर्ने भन्दै थामथुम बनाएर राखेका कारण चेक बाउन्स प्रकरण प्रहरी समक्ष भने नपुगेको कोरिडोरका उद्योगीको भनाइ छ । तर उद्योगी दगडले आगामी असार मसान्तसम्ममा पनि चेक फरफारक नगरेमा आफू प्रहरीकहाँ जानुको विकल्प नभएको एक व्यवसायीले आर्थिक दैनिकलाई बताए ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा उनले सेन्चुरी मसला उद्योग सञ्चालन गरेर सेन्चुरी ब्रान्डका नाममा स्पाइसेज, स्न्याक्स, इनर्जी ड्रिङ्क, सातुलगायतका खाद्य वस्तु उत्पादन गर्दै आएका थिए । यस्तै, दुगडले क्यासिनोसहितको पाँचतारे होटल, ब्याङ्क्वेट र मल सञ्चालन गरेर एकै थलोबाट सबै सेवा सुविधा उपलब्ध गराउने भन्दै विराटनगरको धरान रोडमा रहेको २४ कठ्ठा जमिनमा होटल सेन्चुरियन र महलको शिलान्यास गरेर निर्माण सुरु गरेका थिए । हाल उनको विराटनगरमा होटल ह्यारिसन सञ्चालनमा छ । उनले यो होटलको पनि मूल्य अभिवृद्धि बक्यौता राखेर लामो समयदेखि नतिरी अटेर गरेपछि आन्तरिक राजस्व कार्यालयले बक्यौता सार्वजनिक गरेको थियो । त्यसपछि मात्रै उद्योगी दुगडले मूअकर बुझाएका थिए । तर अझै दुगडका नाममा दर्ता कायम रहेका थप तीन उद्योगले मूअकर बक्यौता बुझाएका छैनन् । अब ती बक्यौता नबुझाउने सबैको कारोबारदेखि बैंक खाता र सम्पत्ति समेत रोक्का गरी असुल गर्ने तयारी रहेको आराका स्रोतले जानकारी दिएको छ

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१