

विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो महत्वाकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि गरिएको खर्चमा व्यापक अनियमित्ता भएको पाइएको छ । कोशी प्रदेशको तेह्रथुम र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रका गरिएको खर्च अपारदर्शी देखिएपछि अनियमितता भएको खुलेको हो । सो खर्चलाई दिएर अहिले प्रदेश सरकारको पर्यटन वन तथा वातावण मन्त्रालयमा एक अर्कोलाई आरोप प्रत्यारोप लगाउने कार्य सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी भनी चिनिएको तेह्रथुम जिल्ला हो । विगतका वर्षहरूमा यो मौसममा त्यो ठाउँमा गुराँसले जङ्गल ढकमक्क ढाक्ने गर्दथ्यो । तर, यो वर्ष उक्त ठाउँमा जसरी गुराँस फुल्नुपर्ने थियो त्यसरी गुराँस फुल्न सकेको छैन ।
गुराँसलाई फुलाउनका लागि मात्रै प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले त्यहाँ दमकलको प्रयोग गरी पानी हाल्ने नाममा लाखौँ खर्च गरेको छ । त्यति मात्र नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई निमन्त्रणा गरिएको भन्दै प्रचार गरिएको थियो तर कसैको पनि सहभागिता भएन । साथै, मन्त्रालयका सबै कर्मचारीलाई तेह्रथुुममा जम्मा गरेर प्रत्येक कर्मचारीलाई पाँच–पाँच दिनको टीएडीएका नाममा मन्त्रालयका सचिव विशाल घिमीरेले लाखौँ खर्च गराएको मन्त्रालय स्रोतले बताएको छ ।
कोशी पर्यटन वर्ष २०८२ को लक्ष्य भनेको प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने थियो । रमणीय कोशी नाराका साथ मनाइने पर्यटन वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षैभर आयोजना गरिने भनिएको थियो । तर उद्घाटनसँगै प्रचारप्रसारका नाममा आफ्ना मान्छे पोस्ने र ती मानिसलाई हजार रुपैयाँ दिएर लाखौँ खर्च देखाएपछि सचिव घिमिरे विवादमा तानिएका छन् । कोशी प्रदेशको पर्यटन वर्षमा मुख्यतयाः भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तर यतिका समय बित्दा समेत पर्यटकका नाममा खासै मानिसको आवतजावत भएको देखिँदैन । प्रदेश सरकारले करिब १० करोडको सुनिश्चितताका साथ आयोजना गरेको भ्रमण वर्षको उपलब्धि अहिले आएर शून्यजस्तो भएको छ ।