
विराटनगर– मोरङमा अनलाइन नागरिकता सिफारिस सेवा आइतबारबाट शुभारम्भ भएको छ । विराटनगर महागनरपालिकाको वडा नम्बर ९ को कार्यालयमा महानगर प्रमुख नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस सेवा शुभारम्भ गरेका छन् ।
महानगर प्रमुख कोइरालाले अनलाइन नागरिकता सिफारिस वडाबाट सुरु भएको हुँदा सेवाग्राहीलाई सहज सेवा प्रवाह हुने बताएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाण पत्र प्रदान गर्ने सहज भएको बताएका छन् । उनले यो प्रविधिको प्रयोगले समयको बचतका साथै सहज सेवा पाउनुका साथै आवश्यक परेको बेला तत्काल अभिलेख पनि पाउन सह भएको बताए ।
अन्य जिल्लाहरुमा यस अगाडि नै सुरु भइसकेको गृहमन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मोरङमा आजबाट सुरु भएको हो । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह् प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यहाँका १७ स्थानीय तहका १ सय ५९ वडामा एक साथ यो सेवा आइतबारबाट सुरु हुने बताएका छन् ।
नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिण्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।
नेपाल सरकारले चालू आर्थिक वर्षबाट देशभरिका वडा कार्यालयमार्फत केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सेवा सुरु गर्ने कार्य क्रम ल्याएको छ ।