

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महासंघका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पत्रमा हस्ताक्षर गर्दै महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको बताए । यस्ता उद्योगहरूले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको जानकारी दिए । साना तथा मझौला उद्योगको प्रवर्द्धन अपेक्षितरूपमा हुन नसकिरहेको भन्दै उनले महासंघ कोशीले यसअघि नै व्यावसायिक विकास सेवा सुरुवात गरेको बताए । महासंघ कोशीले प्रदेशमा सञ्चालन गरिरहेको व्यावसायिक विकास सेवाको प्रवर्द्धन क्षमतादेखि विकास सञ्जाल विस्तार समन्वय, साना तथा मझौला उद्योगको दिगो विकास र व्यावसायिक अनुकूल वातावरण निर्माणको लागि यो सम्झौता कोशेढुुङ्गा सावित भएको उनले बताए ।
कार्यक्रममा उदय परियोजनाका टिम लिडर अरुण राणाले यो समझदारीले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरी व्यवसाय विकास र परामर्शदाता परिचालन गर्ने रूपरेखा प्रस्तुत गर्ने जानकारी दिए । कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवद्र्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरू सञ्चालन गदै आएको कार्यक्रममा जानकारी गराइएको थियो । समझदारीमा उल्लेख भएअनुसार नै उद्योग व्यवसायको पुँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रवर्द्धनलगायतका कार्यक्रम कोशी प्रदेशमा रहेका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघसंस्थाको सहकार्यमा अघि बढाउने महासंघ कोशीका अध्यक्ष राउतले जानकारी दिए । उदय परियोजना, स्वीस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्तरूपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय एवं डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको जानकारी पनि गराइएको थियो ।