

विराटनगर । सस्तोका नाममा उपभोक्ताहरूले विराटनगर भन्सारबाट जाँचपास नगरी गैरभन्सार हुँदै भित्र्याउने गरेको खाद्यान्नको प्रयोग व्यापकरूपले बढेको पाइएको छ । ल्याब परीक्षण नै नगरी सेटिङमा भित्रिएको खाद्यान्नको प्रयोगले ठूलो महामारी निम्तन सक्नेतर्फ सरोकारवालाले सचेत गराएका छन् ।
उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफूल काजु, बदामलगायतका वस्तुको आम उपभोक्ताले सस्तोका नाममा भारतीय बजार जोगबनीबाट खरिद गरी खाद्य परीक्षण नै नगरी सोझै प्रयोग गर्ने गरेका छन् । साथै, स्थानीय व्यवसायीले पनि बढी मुुनाफा कमाउनका लागि गैरभन्सार प्रयोग गरी नेपाल भित्र्याउने गरेका खाद्य वस्तुुले उपभोक्ताको स्वास्थ्यमाथि असर पुुग्ने खतरा रहेको विज्ञहरूको बताएका छन् । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा भएर भन्सार कार्यालयमार्फत भित्रिनुुपर्नेमा केही समयदेखि सस्तोका नाममा उपभोक्ता र सेटिङका व्यवसायीले सोझै विराटनगर बजारमा खाद्य वस्तुको क्वारेन्टिन जाँच पनि नगरी रातारात नेपाल आउने क्रम बढेको छ ।
सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि विराटनगर रानी नाकामा रहेको पुुरानो भन्सार कार्यालयमा प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भन्सार नजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई दुुईदेखि तीन घण्टाको फरकमा ल्याब रिपोर्ट दिने र सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको स्रोतले बताएको छ । कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनी गुणस्तर जाँच हुन्छ । खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई सोझै भित्रिनेगरेको छ ।
भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के–कस्तो वस्तु हो ? त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ । तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ । तर उपभोक्ताले सिधैँ प्रयोग गर्ने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चिया, फलफुुललगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परीक्षण नै नभई सोझै व्यवसायी र सुुरक्षा निकायसँग सेटिङ गरी धमाधम विराटनगर बजार आउने क्रम व्यापक बढेको स्रोतले जनाएको छ । गुणस्तरहीन खाद्यान्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहँदा समेत सरोकारवाला निकाय किन मौन रहेको छ ? भन्ने जटिल प्रश्न अहिले उठ्न थालेको छ ।